धनगढी: कैलालीको धनगढीस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीको मृत्युपछि डडेल्धुरामा आन्दोलन सुरु भएको छ। स्थानीयले त्यहाँ बजार र राजमार्ग अवरुद्व गर्दै आन्दोलन थालेका हुन्।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै उनीहरू डडेल्धुरा सदरमुकाममा आन्दोलनमा उत्रिएको बताइएको छ।
उनीहरूले घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जानकारी दिए।
कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ। मृतकका दाई जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो। शरीरभर निलडाम छन्, घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ।’ मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन्।
यता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार पाली एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पु¥याइएको थियो। अस्पताल पु¥याएको आधा घण्टामै उनको मृत्यु भएको डीएसपी सिंहले बताए। ‘जाहेरी नआउँदा अहिलेसम्म शवको पोस्टमार्टम पनि भएको छैन,’ डीएसपी सिंहले भने, ‘पोस्टमार्टम भएपछि घटनाबारे अनुसन्धान अगाडि बढ्छ।’
बैंकिङ्ग कसुरमा पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो।
कैलाली प्रहरीले पालीलाई पक्राउ गर्नुअघि कञ्चनपुरको महेन्द्रनगरमा पनि उनलाई दुई घण्टा हिरासतमा राखिएको बताइएको छ। त्यहाँ प्रहरीले उनीबाट रकम असुली गरेको आरोप पनि आफन्तले जनाएका छन्।
कैलाली कारागारमा यस्ता घटना पटकपटक दोहोरिएको देखिन्छ। कारागारभित्र गुण्डाराज रहेको र प्रहरीसमेत त्यसमा मिलेको हुनसक्ने अनुमान गरिएको छ।
र, यो पनि: धनगढी कारागारमा रहेका डडेल्धुराका पालीको शंकास्पद मृत्यु, हत्या आरोपबारे के भन्छ प्रहरी ?