काठमाडौँ: काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट हिजो राति ११:४५ मा उद्धार गरेको हो।
बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन्।
विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन्।
शुक्रबार काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा अपरिचित महिलाले चोरेर भागेकी थिइन्। बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो।