धनगढी : धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।
बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा महाशिवरात्रिका अवसरमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।
पुष्प वर्षा दिउँसो ३ बजे पुष्प वर्षा गरिएको हो । त्यस्तै अपराह्न दुई करोड २५ लाख बत्ती बालिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीद्वारा केही दिनअघि रु १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिएको थियो ।
हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च भएको बताइएको छ ।
हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको उनले बताए । प्रसिद्ध धार्मिकस्थल मानिने कैलालीको बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचार–प्रसार गर्न हेलिकप्टरद्वारा पुष्प वर्षा गराइएको आयोजकले जनाएको छ ।