धनगढी: नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर फ्रान्स उडेका छन्। आज (सोमबार) उनी फ्रान्सका लागि उडेका हुन्।
फ्रान्समा ईन्टरपोल महासचिवालयको आयोजनामा १३ गतेसम्म आयोजना हुने कार्यक्रमका लागि उनी त्यहाँ गएका हुन्।
इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेको बताइन्छ।
उनको गैरहाजिरीमा निमित्त प्रहरी प्रमुखको जिम्मेवारी भने (एआइजी) टेकप्रसाद राइले सम्हालेका छन्।
हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ।
साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिका विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ।
हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ। कन्फरेन्समा प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन्।