काठमाडौं: नेपाल प्रहरीका ४ एसएसपीहरुको बढुवा सिफारिस भएको छ। आज (शुक्रबार) ४ जना एसएसपीहरुको बढुवा सिफारिस भएको हो।
गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा सिफारिस गरेको हो।
एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल एक नम्बरमा, दानबहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा बढुवा सिफारिस भएका छन्।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सूचना प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस अगाडि संगठनभित्रको चलखेल र धेरै प्रतिस्पर्धी भएका कारण लामोसमयदेखि अड्किएको डीआइजी बढुवा आज टुङ्गिएको हो।
आगामी हप्ता अवकाशमा जाने डीआईजी सुरेन्द्र मैनालीसहित यस अगाडि अवकाशमा गएका ३ डीआइजीको रिक्त स्थानमा एसएसपीहरुको बढुवा गरिएको हो।
सरकारले हालै एआईजीमा उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवा गरेपछि २ डीआईजी पद रिक्त भएको थियो। यस्तै, डीआईजी विकासराज खनाल पनि उमेर हदका कारण अवकाशमा गएपछि ३ डीआईजी पद रिक्त भएको हो।
अब डीआईजी सुरेन्द्र मैनाली जेठ १० मा उमेर हदका कारण अवकाशमा जाने भएका छन्।
बढुवा सिफारिस भएका शर्मा पोखरेल आईजीपी बसन्तबहादुर कुँवरको ब्याची भएपनि उनी २०५२ कार्तिक २७ मा भर्ना भएका हुन्। यस्तै दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी २०५४ चैत्त १८ का भर्ना हुन्।
अब यसपछि आइजीपीको दौडमा अहिले बढुवा भएका चारजना प्रमुख दावेदार रहने छन्।