काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा ९ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका छन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र कुमार राई तथा प्राविधिक प्रहरी निरीक्षकहरू सरीता केसी, सोनिम महत्तो, शैलेन्द्र कुमार सिंह, गणेश कुमार पाण्डेय, बलदेव बडु, तिर्थ बहादुर थोकर, राजन बहादुर बुढाथोकी र हिमाल खड्का रहेका छन् । पदोन्नति भएकामध्ये प्राविधिक प्रहरी निरीक्षक श्री भगवान प्रसाद कुशवाह वैदेशिक तालिमका लागि हाल कोरियामा रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हितमा थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्वास व्यक्त गरे ।