काठमाडौं : हालै बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) भीमप्रसाद ढकाल हाल प्रहरी प्रधान कार्यालय मातहतको मानवस्रोत विभागको प्रमुखको जिम्मेवारीमा छन्। एआइजी ढकालको २८ वैशाखमा बढुवा भएकोमा ३ जेठमा उनले विभागको जिम्मेवारी सम्हालेका थिए।
प्रहरीको महत्त्वपूर्ण मानिने उक्त विभागको जिम्मेवारी कुशलतापूर्वक निभाउने ढकालको दाबी छ।
एआइजी ढकाल प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा परिचित छन्। त्यसका साथै उनी कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिन्छन्।
रोचक कुरा त के छ भने उनका भाइ पनि प्रहरी सेवामै छन्। तीन भाईमध्येका जेठा ढकाल हुन् भने सबैभन्दा कान्छा प्रभु ढकाल हाल नेपाल प्रहरीको एसपी छन्। उनी अहिले इलाम जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत छन्।
ढकालका माइला भाइ भने अष्ट्रेलियामा व्यापार एवं एनआरएनएको राजनीति गर्ने गर्दछन्।
भोजपुरको अरुण गाउँपालिका पुर्ख्यौली घर भएका उनीहरूको हाल काठमाडौंमै बसाई छ।
प्रभुले २०५८ सालमा सेवा प्रवेश गरेका थिए भने ढकालले २०५२ भदौ १९ गते सेवा प्रवेश गरेको बताएका छन्। हालसम्म ढकालले विभिन्न जिल्ला, प्रदेश र प्रहरीको केन्द्रिय प्रवक्तासम्मको जिम्मेवारी सम्हालिसकेका छन्।