काठमाण्डु : सुदुरपश्चिम प्रदेश सरकार विस्तार गरिने भएको छ। एमाले र माओवादी केन्द्रबीच सरकार विस्तारको सहमति भएको हो ।
सहमतिअनुसार अहिले माओवादी केन्द्र र एमालेले तीन-तीन मन्त्रालय लिने समझदारी जुटेको छ । सोमबार बिहान बसेर मन्त्रालयको टुंगो लगाउने गरी छलफल अघि बढेको माओवादी केन्द्रका सांसद ओमविक्रम भाटले बताए ।
मन्त्रालयको टुंगो प्रदेशकै नेताहरु बसेर लगाउने गरि केन्द्रको निर्देशन आएको भाटले जानकारी दिए । अहिले मुख्यमन्त्री सोडारीसहित नागरिक उन्मुक्तिको रन्जिता पक्षका कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था तथा कृषि सरकारी मन्त्री छिन् ।
सोमबार मन्त्रालय विभाजन गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ । सुदुरपश्चिममा मुख्यमन्त्री सोडारीले भौतिक फुटाएर शहरी उर्जा, तथा खानेपानी र सामाजिक फुटाएर शिक्षा खेलकुद र स्वास्थ्य सामाजिक बनाउने तयारी गरेका छन् ।
एमालेबाट अर्थमा सुरेन्द्र पाल जाने निश्चित भएको छ । एमालेबाट कंचनपुरबाट निर्वाचित सांसद वीरबहादुर थापा र सामानुपातिक सांसद हिरा सार्की मन्त्री बन्ने भएका छन् । माओवादीबाट ओमविक्रम भाट मन्त्री बन्नेमा छन् । अरु दुईमा अक्कल रावल, शिव ओली र जानकी कुंवरमध्ये तिन जना मन्त्री बन्नेमा छन् ।
एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री भएको ५१ दिन बितिसक्दा पनि सुदुरपश्चिममा सरकार विस्तार हुन सकेको थिएन । सुदुरपश्चिम सरकार विस्तारको विषयलाई लिएर सत्तारुढ दलहरुको बीचमा विवाद समेत थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार गर्न सहमति भएको हो । सुदुरपश्चिममा समाजवादीलाई एमालेले समर्थन जनाएपनि सरकारमा भने सहभागी भएको थिएन । जसको कारण सरकारको भविष्यमाथि नै प्रश्न चिन्ह खडा भएको थियो ।