धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले आफू मन्त्री नियुक्त भएको विषयमा थाहै नभएको बताएका छन्। महेन्द्रनगरपोष्टसँग कुर गर्दै जोशीले मन्त्री नियुक्त भएको विषयमा आफू अनभिज्ञ रहेको बताएका हुन्।
यस अगाडि पनि डडेलधुराबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य डा. जोशीले सरकारमा सहभागी नहुने बताएका थिए।
मन्त्रालय फुटाउने कुरामा असहमति राख्दै उनले मन्त्रालय नलिने जनाएका हुन्। जबकी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। ६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। सोडारीले जोशीसहित ८ जनालाई मन्त्री नियुक्त गरेका हुन्।
स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन्।
यस्तै, एमालेका बिरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेका हुन्।
नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे तय गरिएको छ। सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई कृषि मन्त्री नियुक्त गरेका थिए। अब जोशीले भने सपथ लिन्छन् कि लिदैनन् भन्ने हेर्न बाकी छ।