धनगढी : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)ले शपथ लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
उनलाई मन्त्रालयमा कर्मचारीहरूले स्वागत गरेका थिए । सो क्रममा उनले सुशासनको प्रत्याभूति र असल आचरणयुक्त सार्वजनिक सेवाको सुनिश्चितताका लागि समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
उक्त निर्णय कार्यान्वयनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको छ ।
नेपालको संविधानमा मौलिक हकको रुपमा रहेको दलितको हक, महिलाको हकका साथै प्रचलित फौजदारी कानुन अन्तर्गत जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ र महिला हक अधिकारका सम्बन्धमा बनेका विद्यमान कानुनमा आधारित रही सुदूरपश्चिम प्रदेशका सबै सार्वजनिक निकाय र स्थललाई विभेदरहित बनाउन र महिलामाथि सार्वजनिक सेवा प्रवाहका क्रममा हुने विभिन्न प्रकारका यौनजन्य हिंसा र विभेदजन्य कार्य नियन्त्रण गर्ने सम्बन्धमा अनुगमन तथा आचार संहिता निमार्णका लागि कार्यक्षेत्रगत शर्त (टिओआर) तयार गर्न कानुन अधिकृत दान बहादुर सुनारको संयोजकत्वमा शाखा अधिकृत भुवन जोशी र अधिकृत विन्दु चटौत समेतको तीन सदस्यीय समिति गठन गर्ने ।
साथै मन्त्री भाटले मन्त्रालयका कर्मचारीहरुलाई भोली बिहान ८ बजे कार्यालयमा उपस्थित बजेट निमार्णको बिषयमा छलफल गर्न निर्देशन दिए ।