धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारले सरकार विस्तार गरेका छन् । दुई मन्त्री र पाँच विनाविभागिय मन्त्री नियुक्त गरेसंगै १० सदस्यीय मन्त्री मण्डल बनेको हो ।
६ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका छन् ।
यस्तै, एमालेका बिरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।
उनिहरु सातै जनाले प्रदेश प्रमुख नजिर मियाँबाट सपथ खाइसकेका छन् ।
सोडारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सिफारिस गरेका स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीले भने मन्त्री खान अस्विकार गरेका छन् ।
मन्त्रालय फुटाइदै
विनाविभागीय मन्त्रीहरुलाई भागवण्डा मिलाउन सोडारीले मन्त्रालय फुटाउने तयारी गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी छ ।
सरकारले भौतिक पूर्वाधारलाई फुटाएर सहरी उर्जा खानेपानी तथा सिचाई मन्त्रालय, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन वातावरण विज्ञान तथा प्रविधी मन्त्रालय र उद्योग पर्यटन मन्त्रालय बनाउने मस्यौदा तयार गरिएको छ ।
त्यसका लागि मन्त्रिपरिषद्को बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गर्ने गरि मस्यौदा बनेको स्रोतको दाबी छ ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी पार्टीका उपनेता प्रकाश रावलले पनि मन्त्रालय फुटाएर कार्य विभाजन गर्दै सरकारलाई पूर्णता दिने विषयमा समझदारी जुटेको बताए ।