धनगढी : सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री ओमबिक्रम भाटले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने निर्णय गरेका छन् ।
सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका मन्त्री भाटले पदभार ग्रहण गर्दै मन्त्री भाटले सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेका हुन् ।
खसगरी प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरुलाई नियन्त्रण गर्ने सम्बन्धी आचार संहिता निमार्ण गरिने निर्णयमा उल्लेख गरिएको छ ।
त्यसका लागि मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार संयोजक रहनेगरि तीन सदस्यीय आचारसंहिता निर्माण समिति समेत बनाइएको छ । समितिको सदस्यमा शाखा अधिकृत भुवन जोशी र अधिकृत छैटौ बिन्दु चटौत रहेकी छन् ।
यसैबीच, मन्त्री भाटले बजेट निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा जिम्मेवारी प्राप्त गरेको भन्दै जनता र प्रदेशका पक्षमा बजेट बनाउन प्रयास गर्ने बताएका छन् । भाटले धेरै विलम्ब भइसकेपनि जनपक्षीय बजेट ल्याउन सक्दो भूमिका खेल्ने बताएका हुन् ।
उनले बजेटकै विषयमा छलफल गर्न मंगलबार मन्त्रालयका कर्मचारीको बैठक समेत बोलाएका छन् ।