काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन । राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्को) उद्घाटन मञ्चमा सहभागी हुन आज साँझ त्यसतर्फ जान लागेका हुन ।
उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको छ ।
भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने छन । राष्ट्रपति पौडेलले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहने छन । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहनेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने कार्यक्रम छ ।