धनगढी : नेकपा माओवादी केन्द्रको सुदूर पश्चिम प्रदेश सभाका संसदीय दलका नेता मान बहादुर धामीलाई कारबाही हुने भएको छ ।
संसदीय दलमा निर्णय नै नगरी सरकारमा मन्त्री नियुक्तिका लागि सिफारिस गरेको भन्दै संसदीय दलका नेता धामीलाई अनुशासनको कारबाही गर्ने सोही दलका सदस्यहरुले बताएका छन् ।
संसदीय दलको बैठकमा छलफल र निर्णय नै नगरी मन्त्री नियुक्तिको सिफारिस गरिएको संसदीय दलका पाँच जना सदस्यको यसमा गम्भीर असहमती छ, नेकपा माओवादी केन्द्रका संसदीय दलका सदस्य शिवसिंह ओलीले भने, एकलौटी र आफूखुशी सिफारिस गर्ने संसदीय दलका नेता धामीमाथि अनुशासनको कारबाही हुन्छ । कारबाहीका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रदेश ईञ्चार्ज गिरिराजमणी पोखरेललाई आग्रह गरिएको छ।
माओवादीका प्रदेश सभाका सदस्य ओली सहित पाँच जना सदस्यले तत्काल माओवादी केन्दबाट कसैलाई मन्त्रीको शपथ नखुवाउन मुख्यमन्त्री दीर्घ सोडारीलाई लिखित र भेटेर आग्रह गरेका थिए । उनीहरुका आग्रहलाई अटेर गर्दै मुख्यमन्त्री सोडारीले माओवादीका केन्द्रका तर्फबाट ओम बिक्रम भाट सरल, अक्कल रावल र लक्ष्मी बिकलाई सोमवार मन्त्रीको शपथ खुवाएका थिए ।