धनगढी : नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयारी गरिरहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।
आफूलाई विश्वासको मत दिएका दलहरूलाई सरकारमा समेट्नेगरी प्रधानमन्त्रीले गृहकार्य बढाएपनि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच कुरा नमिल्दा ढिलाइ भएको छ ।
नाउपा र जनमतलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले शीर्ष तहमा छलफल गरिरहेको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले बताए ।
मन्त्रिपरिषद् पुनर्गठनमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
जनमत र नाउपालाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले एमालेसँग एक/एक मन्त्री फिर्ता बोलाउनेगरी ओलीसँग राखेको प्रस्ताव अस्वीकार गरेको बताइन्छ ।
एमाले तयार नभएपछि प्रचण्डले माओवादीबाटै दुई मन्त्री फिर्ता बोलाउने विकल्पमा समेत छलफल गरिरहेको एक नेताले सुनाए । प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय दिने बचन दिइसकेका छन् ।
पर्यटन मन्त्रालयमा अहिले माओवादीकै हितबहादुर तामाङ मन्त्री छन् । उनैलाई फिर्ता बोलाउने माओवादीको तयारी छ । त्यसो त माओवादीमा अर्थमन्त्री वर्षमान पुनबाहेक सबै पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउनेबारे पनि छलफल भइरहेको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले आफू पर्यटन मन्त्रालय लिएर एक साताभित्र सरकारमा सहभागी हुने बताइएकी थिइन् । उनले आफ्नो पार्टीले पर्यटन मन्त्रालयसहित एक राज्यमन्त्री पाउने सहमति बनेको बताएकी थिइन् ।
जनमत पार्टीका प्रवक्ता शरद यादवले अब सरकारमा जानेबारे छलफल हुने बताए ।
पार्टीले कुन मन्त्रालय लिएर सरकारमा जाने भन्ने विषयमा गठबन्धन दलसँगको छलफलपछि मात्रै टुंगिने उनले सुनाए ।
माओवादीका सचिव गणेश शाहले जनमत र नाउपालाई सरकारमा भित्र्याउनेबारे दलहरूबीच बसेर औपचारिक निर्णय गर्न बाँकी रहेको बताए ।