धनगढी : नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओम विक्रम भाट (सरल) सुदूरपश्चि प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका छन्। हिजो (सोमबार) मात्रै सरल सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीको रुपमा उनले सपथ लिएका हुन्।
उनले सपथपछि कार्यभार सम्हाल्दै प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने पहिलो नीतिगत निर्णय गरेका छन्। उनले सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले सो नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेका हुन्।
खासगरी प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरुलाई नियन्त्रण गर्ने सम्बन्धी आचार संहिता निमार्ण गरिने निर्णयमा उल्लेख गरिएको छ।
यसैबीच, मन्त्री भाटले बजेट निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा जिम्मेवारी प्राप्त गरेको भन्दै जनता र प्रदेशका पक्षमा बजेट बनाउन प्रयास गर्ने बताएका थिए। भाटले धेरै विलम्ब भइसकेपनि जनपक्षीय बजेट ल्याउन सक्दो भूमिका खेल्ने बताएका थिए।
त्यस्तै हिजो नै उनले निर्वाचन क्षेत्रस्थित सहिद बस्तीमा पुगेर सो बस्ती र पीडित परिवारका लागि सक्दो पहल गर्ने जनाएका थिए।
को हुन् सरल ?
सरलले जनयुद्ध अगावै राजनीति सुरु गरेपनि तत्कालीन समयमा उनी किशोरावस्थामै व्यवस्था परिवर्तनको लडाइँमा होमिएका थिए।
शारदा माध्यामिक विद्यालयमा तत्कालीन समयमा कक्षा ९ मा पढ्ने बेलादेखि नै सरल माओवादी आन्दोलनमा होमिएका थिए। उनी ०५९ सालदेखि माओवादी आन्दोलनमा होमिएका हुन्। त्यसपछि अखिल क्रान्तिकारीको जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका सरलसँग दुई दशक बढीको राजनैनिक अनुभव छ। त्यसबीचमा सरलले सरकार सञ्चालनदेखि विभिन्न आन्दोलनको नेतृत्वसँग निकट रहेर काम गरेका थिए।
एकताका नेकपा माओवादी केन्द्र डडेल्धुराको कार्यालय सचिवको जिम्मेवारी निर्वाह गरेका सरललाई पार्टीले ०६१ देखि ०६३ शान्तिवार्तासम्म प्रवासको जिम्मा दिएको थियो। मुख्य गरेर घाईतेको उपचारदेखि पाटीको काममा रहेका सरल सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएपछि नेपाल फर्किएर प्रदेश सभा सदस्यको चुनावमा होमिएका थिए।
०६४ सालमा उनलाई पाटी केन्द्रीय कार्यालयदेखि तत्कालीन सुदूरपश्चिम प्रदेशमा रहेका निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समितिको जिम्मेवारी दिइएको थियो। त्यसपछि ०६५ सालमा उनले नेकपा माओवादी केन्द्र पहिलोपटक सरकारमा गएपछि माओवादी केन्द्रका तर्फबाट श्रममन्त्री भएका लेखराज भट्टको स्वकीय सचिवको रुपमा काम गरेका थिए। त्यसपछि अपिसैपाल मासिक पत्रिका प्रकाशन, ०६९ सालमा भेरी कर्णाली राज्य समिति कार्याय सचिव, हेटौडा महाधिवेशनपछि कञ्चनपुर आएर जिल्ला पाटी कार्यालय सदस्य हुँदै ०७३ मा केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभाग सुदूरपश्चिम प्रमुख बनेका थिए।
त्यसपछि हालसम्म आइपुग्दा उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्। त्यसपछि उनै ३५ वर्षीय सरल गत प्रदेश सभाको निर्वाचनमा कञ्चनपुर २ को प्रदेश सभातर्फ (१) मा निर्वाचित भएका थिए। उनी १० हजार ९ सय २५ मत प्राप्त गरेर विजयी भएका थिए।
एमालेका बचनबहादुर सिंहलाई पराजित गर्दै उनी जितेका थिए।