काठमाडौँ : गिरीबन्धु टी–इस्टेट प्रालिले परिवारको निजी जग्गामा चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दावी गरेको छ ।
बुधबार झापामा पत्रकार सम्मेलन गर्दै गिरीबन्धु टी–इस्टेटले गिरीबन्धु आफुहरुको निजी सम्पती भएको भन्दै चिया बगानको लागि प्रचलित कानुनबमोजिम हदबन्दीसम्म छुट लिएको दावी गरेको हो ।
गिरीबन्धु टी–इस्टेटका अध्यक्ष छत्र गिरीले गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएकोजस्तो भ्रमपूर्ण र गलत प्रचारबाजी तथा घोच–पेचहरूमा तथा सामाजिक सञ्जालहरुमा सम्प्रेषण भइरहेको भन्दै आपत्ती जनाए ।
२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुन अघिनै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३ सय ९० विघा जग्गा रहेको उहाँले बताए ।
२०२० सालमा कम्पनी स्थापना गरी सञ्चालनमा आएको ठाउँमा वस्ती विस्तार भई बिर्तामोड बजारको विकास भएको र एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वर शक्तिमा ह्रास आएकाले चिया उत्पादनमा ७० प्रतिशतसम्म ह्रास आएको अवस्था भएकाले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिँदै गएको गिरीले बताए ।
उनले उक्त परिस्थीतिका कारण त्यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जनदबाब आएकाले उपयुक्त ठाउँमा चिया बगानको व्यवस्था गर्ने गरी, जग्गा सट्टा–पट्टाको लागि निवेदन गरिएको प्रष्ट पारे ।
उनले अदालतबाट समेत चिया बगानको लागि सट्टा–भर्नाको जग्गाको सुनिश्चतता, मजदुरको रोजीरोटीको समस्याबाट बञ्चित नगर्ने, सट्टा–भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनको लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने आदेश आएकाले आवश्यक प्रक्रिया पूरा गरेर उपयुक्त निर्णयमा पुग्ने जानकारी दिए ।