काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका छन ।
समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले टिकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अव उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका हुन ।
उहाले टिकापुर घटनामा घाइते व्यक्तिलाई उपचार गर्न अस्पताल लाने, रिक्सा चलाउने, तरकारी बेच्ने निर्दोष थारुहरुलाई ८ बर्ष जेल पठाइएको जिकिर गरे ।
जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्न उहाले गृहमन्त्री समक्ष आग्रह गरेका छन । उहाले साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार जनता सहभागी भएको आफ्नो पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु उचित नभएको धारणा राखे ।
चौधरीले श्रीमान श्रीमतीबिच फाटो ल्याउन खोज्ने दलहरुले देशको बिकास गर्न नसक्ने तर्क गरे । उहाले आफुलाई अझैपनि तर्साउने प्रयत्न भइरहेको भन्दै त्यसबाट आफु रतिभर पनि त्रसित नहुने बताए ।