काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् ।
उनले नेपालको कानुनी व्यवस्थाका आधारमा दर्ता भई सञ्चालन भए टिकटक प्रति कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन । शर्माले बुधवार मात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको र नेपालको नियमकानून अनुसार चल्नुपर्नेमा जोड दिएको धारणा राखिन उनले आगामी मन्त्रीपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसद्मा पठाउने र त्यसपछि बृहत् छलफल गर्दै यसलाई पारित गर्ने जानकारी दिइन।
उनले नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको पनि बत्ताइन।
त्यस्तै शर्माले सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय, अनुगमनका साथै नागरिकको सूचनामा सहज पहुँचका लागि पनि ध्यान दिइएको उल्लेख गरिन ।
संसद्, राजनीतिक दलका साथै सञ्चारमाध्यमहरूको योगदान सुशासन प्रवर्द्धनका लागि महत्त्वपूर्ण हुने उनको भनाइ छ ।