काठमाडाैं: लमजुङको दोर्दी गाउँपालिका–९ सुनार टोलका विकल सुनारको मृत्यु भएको छ। गतवर्ष माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको परीक्षा दिएका उनको नतिजा नै हेर्न नपाई मृत्यु भएको हो।
पहिरोमा परेर मृत्यु भएपछि एसईई उतीर्ण भएर थप पढ्ने उनको धोकोको पनि अवसान भएको छ।
नजिता प्रकाशित हुने मिति मुखमै आएकाले मंगलबार पनि उनी पास हुने सपनासहित सुतेका थिए। तर, त्यो रातबाट उनी सुतेको सुत्यै भए। घरसँगै जोडिएको खोपीमा दाजु मिलनसँगै सुतेका उनीमाथि त्यो राति पहिरो आयो।
पहिरोले खोपी भत्किँदा उमेरले १६ वर्ष मात्रै पुगेका उनीसहित दाजु मिलन घाइते भए। तर, पहिरो पन्छाएर अस्पताल लग्दा दाजु मात्रै जिउँदो अवस्थामा पुगे। विकलले आधा बाटोमै प्राण त्यागे।
त्यहाँका वडाअध्यक्ष आशिष तामाङका अनुसार अहिले विकलका दाजुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।
विकलको मृत्यु भएको एकदिनपछि एसईईको नजिता प्रकाशित भएको छ। उनी २.८० जीपीए ल्याएर पास भएको वडाध्यक्ष तामाङले बताए। तर, रिजल्टकै पर्खाइमा बसेका उनी यो संसारमै रहेनन्।
उनको मृत्युको खबरले उनले एसईई दिएको जनकल्याण मावि स्तब्ध भएको छ।