धनगढी : अखिल नेपाल महिला संघ सुदूरपश्चिम कमिटीले सुदूरपश्चिम प्रदेशमा महिलामाथि हुने हत्या, र हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।
असार ३ गते राति सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा १६ वर्षकी एक किशोरी छाउगोठमा बसेको बेला बलात्कृत भएको घटनाले संघलाई गम्भीर चिन्ता बढाएको भन्दै ज्ञापन पत्र बुझाएका हुन । यसैगरी बझाङ र बाजुरा लगायतका जिल्लाहरूमा पनि यस्तै अमानवीय घटनाहरू घटेको बुझाइ रहेको छ।
राज्यले यस्ता अमानवीय घटनामा पिडितलाई संरक्षण र छाउपडीको अन्धविश्वासको अन्त्य गर्दै अपराधमा संलग्न दोषीलाई कडा कारवाही गर्नुपर्ने संघको माग छ।
समाजमा छाउपडीका कुरीतिहरू व्यापक रहे पनि राज्यले घटनाको छानविन, पिडितको उद्धार, सहयोग र संरक्षणमा खास कदम चाल्न नसकेको विज्ञप्तीमा उल्लेख छ । अखिल नेपाल महिला संघ सुदूरपश्चिम कमिटीले राज्यलाई यस्ता घटनाको निष्पक्ष र विश्वसनीय छानविन गरी दोषीलाई सजाय र पिडितलाई न्याय र संरक्षण दिन अपील गरेको छ।
संविधान २०७२ को धारा १६ ले मानिसलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। धारा २४ मा छुवाछुत तथा भेदभाव गर्न नहुने र यस्ता कार्यहरूलाई गम्भीर सामाजिक अपराधका रूपमा कानूनी कारवाही गर्ने व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १६८ को उपदफा ३० ले महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न नहुने व्यवस्था गरेको छ।
संविधान देशको मुल कानुन भएकाले कागजमा रहेका प्रावधानहरूलाई व्यवहारमा लागू गर्नु कानुनी राज्यको प्रत्याभूति गर्न माग गरेको छ ।