काठमाडौं : अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा गरी शनिबार मात्र ९ जनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलका अनुसार मृत्यु हुनेमा भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनी सपना विक र बिपना विक रहेका छन् ।
उता बागलुङमा गएराति गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
त्यस्तै आज बिहान पहिरोले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् ।
घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिम समेत बढेको छ ।