धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले झण्डै ११ लाख बराबरको अवैध भन्सार छलीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले शुक्रबार नवदुर्गा मन्दिर नजिकै चेकजाँचका क्रममा अवैध सामानसहित गाडी चालक र एक महिलालाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका-१ का ३१ वर्षीय हरि बुढाले चलाएको सु.प.प्र.०१-००१ ज १२७९ नम्बरको म्याजिक गाडीलाई शंका लागी चेकजाँच गर्दा अवैध सामान फेला पारेको हो। गाडीमा सवार ४० वर्षीया सरस्वती बिकसमेत पक्राउ परेकी छन्।
गाडीबाट सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरी करिब १० लाख ७२ हजार बराबरको अवैध भन्सार छलीको मालसामान फेला परेको प्रहरीले जनाएको छ।
उक्त सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय पठाउने कार्य भइरहेको छ।