धनगढी : बैतडीमा शिक्षकले नाबालिकामाथि जबरजस्तीकरणी गरेको घटनामा पीडितका परिवारले १५ लाखमा मिलापत्र गराएको तर पैँसा नपाएपछि प्रहरीमा किटानी जाहेरी दिएको घटना सार्वजनिक भएको छ ।
पाटन नगरपालिकाको एक विद्यालयकी १३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका शिक्षक २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरुले गत १२ चैतको राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षक नाबालिकाका परिवारलाई १५ लाख दिन तयार भएपछि कहीकतै उजुरी नगर्ने सहमती भएको खुलेको छ ।
शिक्षक र नाबालिकाका परिवारबीच उमेर २० वर्ष पुगेपछि विावह गर्ने, त्यो बेलासम्म पालन पोषण गर्ने र तत्काल घरपरिवारलाई १५ लाख रुपैयाँ दिने सहमती भएको थियो । उक्त रकम बराबरको चेक काटेर पनेरुले नाबालिकाका बाजेलाई दिएका थिए तर उनले खातामा रकम जम्मा गर्न सकेनन् ।
पैँसा प्राप्त नभएपछि महिला अधिकारकर्मीको सहयोगमा नाबालिकालाई सुरक्षित आवास गृह पाटनमा लगिएको थियो । त्यसपछि शिक्षकविरुद्ध जबरजस्तीकरणी मुद्धा दर्ता भएपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले शिक्षक पनेरुविरुद्ध किटानी दर्ता भएको बताउँदै उनको खोजी भइरहेको जानकारी दिए । घटना भएको ढिलोगरि उजुरी आएका कारण केही समस्या भएपनि कानुनी कारवाहीको दायरामा ल्याइने बताए ।