काठमाडौं: तस्करलाई सघाएको आरोप लागेका एसपी विश्व खड्का निर्दोष ठहर भएका छन्।
तस्करलाई सघाएको आरोप लागेपछि मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी खड्कामाथि आन्तरिक छानबिन सुरु भएको थियो।
छानबिन टोलीले प्रतिवेदनका आधारमा खड्का निर्दोष देखीका सशस्त्र प्रहरी प्रवक्ता डिआईजी कुमार न्यौपानेले बताए। उनी भोलिदेखि काममा फर्किनेछन्।
मोरङमा २०८० फागुन पहिलो साता सशस्त्र प्रहरीको प्रमुखको रूपमा आएका एसपी खड्कामाथि तस्करीको लाइन चलाएको आरोप लागेको थियो।
यस्तै सशस्त्र प्रहरी बल नेपालको तालिमका क्रममा दुई जनाको ज्यान गएको खुलेको छ। सशस्त्रको ककनीस्थित तालिम केन्द्रमा असार १ गते सहायक हवल्दारहरू सञ्जय बल र महेन्द्र लामाको मृत्यु भएको हो।
यस्तै पाथीभरा जवान तालिम शिक्षालय झापामा सञ्चालित सि.सं. २३७ ख आधारभूत तालिमका दौरान जवान धिरेशकुमार मण्डलको गोडा भाँचिएको छ। उनको दाहिने गोडाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
उता पश्चिम नवलपरासी बर्दघाटमा तालिमरत जवान गौरी परियारलाईसमेत उपचारार्थ काठमाडौं ल्याइएको बताइएको छ।
ककनीमा एसएसपी राजेन्द्र खड्का, झापामा कमल तिमिल्सिना र बर्दघाटमा विश्व भट्टराई प्रमुख छन्। भट्टराई आगामी भदौमा अनिवार्य अवकाशमा जाँदै छन् भने खड्का दुई महिनाअघि मात्र ककनी गएका हुन्।
प्रधान कार्यालयको निर्देशनविपरीत खड्काले मोटरसाइकल हाँक्ने छुट दिएकाले पछिल्लो पटक दुई जनाको ज्यान गएको आरोप छ। नियमानुसार तालिमरत व्यक्तिलाई मोटरसाइकल चलाउन निषेध छ।
गत भदौमा सशस्त्रले केही तालिम केन्द्रको स्तरोन्नती गरेर एसएसपीलाई पठाएको थियो। सशस्त्र प्रहरीमा हाल १२ वटा तालिम केन्द्र छन्।