काठमाडौं: ‘विवादित’ प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाउने तयारी थालिएको छ। प्रहरी स्रोतका अनुसार यस अगाडि पनि पटकपटक बदनाम भएकी इन्सपेक्टर शाही पुनः एकपटक घुस प्रकरणमा मुछिएपछि उनलाई जिम्मेवारीमुक्त गर्ने तयारी थालिएको हो।
शाही हाल ललितपुरको भैंसेपाटी प्रभागकी इन्चार्ज छन्। उनै शाही, अहिले लाखौँ घुस लिएको घटनामा मुछिएकी छन्।
सोही आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान तथा छानबिन सुरु गरेको छ।
जेठ २३ मा भैंसीपाटी इन्चार्ज गएकी शाहीले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको आरोप छ
स्रोतका अनुसार शाहीले बलात्कार मुद्दा चलाउने भन्दै एक व्यक्तिलाई ल्याएर थुनामा राखि मिलापत्र गराएकी थिइन्। करिब २० लाख रुपैयाँ लेनदेनमा घटना मिलापत्र भएको र त्यसमध्ये आधा रकम इन्स्पेक्टरलाई दिने सर्त रहेको खुलेको हो।
प्रारम्भिक छानबिनमा घटना गम्भीर देखिएपछि उनलाई हटाएरै कारबाही गर्न लागिएको स्रोतको दाबी छ। प्रारम्भिक अनुसन्धानका क्रममा शाहीका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको बुझिएको छ।
को हुन् ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी ?
शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्। त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो।
त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो।
सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो।
र, यो पनि: ‘बदनाम’ इन्सपेक्टर बिनुकुमारी फेरि विवादमा, कारबाही गरिने