डडेल्धुरा: डडेल्धुरामा पनि ६९औं प्रहरी दिवस मनाइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख अतिथ्यतामा ‘साइबर सुरक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ डडेल्धुरामा प्रहरी दिवस मनाइएको हो। प्रमुख अतिथि खड्का, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने लगायत अतिथिहरूले प्रहरी स्मारकमा पुष्पहार र पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए।
यस्तै सो अवसरमा डडेल्धुरामा कार्यरत २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। उत्कृष्ट अनुसन्धानतर्फ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमसहित ६ जना प्रहरी पुरस्कृत भएका छन् । असोज २५ गते अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया आरती भट्टराईको हत्या घटनाको अनुसन्धानमा उत्कृष्ट काम गरेबापत उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो।
डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार कार्यालय व्यवस्थापनतर्फ प्रहरी सहायक निरीक्षक रामबहादुर धानुकसहित १२ जना पुरस्कृत भएका छन्। राजश्व संकलनतर्फ प्रहरी सहायक निरीक्षक डम्बरबहादुर कार्की, सामुदायिक प्रहरीतर्फ प्रहरी नायब निरीक्षक चन्द्रसिंह धामीसहित दुईजना र ट्राफिक व्यवस्थापनतर्फ उत्कृष्ट काम गरेवाफत प्रहरी सहायक हवल्दार दीपकबहादुर बलायर पुरस्कृत भएका डिएसपी श्रेष्ठले बताए।
यसअघि बिहान पनि डडेल्धुरामा प्रहरी दिवस मनाइएको थियो। उक्त कार्यक्रममा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो।