धनगढी: धनगढीबाट त्रिनगर-गौरिफन्टा नाका हुँदै भारत जाने क्रममा एक बालकसहित भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज (शुक्रबार) बेलुका त्रिनगर प्रहरीले भारतीयलाई बालकसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक सलिम खान रहेका छन्। उनी धनगढी उपमहानगरपालिका ३ का एक बालकलाई ट्याक्सीमा राखेर नाका क्रस हुन खोज्दा समातिएका हुन्।
धनगढी मनहेराका ३ कक्षामा पढ्ने ती बालकलाई खानले भारत लैजान लागेका थिए। बेचविखनको आशङ्कामा उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालिएको जनाइएको छ।
ती बालक धनगढीमा आफ्नो काकासँग बस्दै आएकाकोमा उनले दुख दिएकाले भारत लैजान लागिएको खानले बताएको स्रोतको दाबी छ। उनले भारतमा रहेका बुबालाई भेटाउने भन्दै बालकलाई लैजान लागेका थिए। यस सम्बन्धमा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।