धनगढी: नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए।
जसअनुसार पहिलो नम्बरमा ध्रुबराज राउत, दोस्रोमा भोलाबहादुर रावल, तेस्रोमा गणेश चन्द, चौथोमा सिद्धिविक्रम शाह, पाँचौमा सुशील सिंह राठौर, छैटौंमा उमाप्रसाद चतुरवेदी, सातौंमा हिमालय कुमार श्रेष्ठ र आठौंमा डम्बर बहादुर बिक रहेका छन्।
योपटक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्।
आईजीपी कुँवरको ब्याचका ध्रुवबहादुर राउत, भोलाबहादुर रावल र गणेश चन्दलाई क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस गरिएको छ।
यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीबाट सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर बिक डीआईजीमा सिफारिस भएका छन्।
उनीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका हुन्। डीआईजीका लागि लविइङ गरिरहेका २०५४ सालका प्रहरी निरीक्षकहरु भने यस पटक छुटेका छन्। यो ब्याचका तीन जना भने यसअघि नै डीआईजीमा बढुवा भइसकेका छन्। डीआईजीहरु दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी २०५४ को ब्याचका हुन्।
उनीहरु पनि यो टोलीसँगै एसएसपीमा बढुवा भएका थिए। तर डीआईजीमा अगाडी लागेका हुन्। अघिल्लो पटक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई छुटाए पनि यसपटक उनीहरुलाई प्राथमिकता दिएर बढुवा गरिएको छ।