धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी, बझाङको अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले दिलबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्वसमेत चयन गरेको छ।
पार्टीभित्रको आन्तरिक विवादका कारण नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा सहमति नजुटेपछि २०७८ सालदेखि एमालेको अधिवेशनको मिति तोक्ने र अधिवेशन स्थगित गर्ने लामो शृंखला नै चलेको थियो। २०८० माघ र फागुनमा मात्रै दुई पटक मिति तोकेर अधिवेशन स्थगित गरिएको थियो । यसअघि २०७८ र २०७९ सालमा पनि अघिवेशनको मिति तोकेर बीचमै स्थगित भएको थियो।
यसपटक मंसिर २४ गतेबाट सुरु भएको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि नेताहरूले निर्वाचनको प्रक्रियाबाट अधिवेशन सम्पन्न गर्ने सहमति गरेका थिए। मंसिर २८ गते विभिन्न पदका लागि भएको निर्वाचनको नतिजा आइतबार सार्वजनिक गरिएको हो।
एमालेको निर्वाचन कमिटीले सार्वजनिक गरेको नतिजाअनुसार भण्डारीले अध्यक्ष पदका प्रतिस्पधी कलकबहादुर खड्कालाई ५५ मतले पछि पार्दै जित हात पारेका छन्। भण्डारीले २०८ मत प्राप्त गर्दा खड्काले १५३ मत पाएको निर्वाचन कमिटीले जनाएको छ।
अध्यक्ष पदमा निर्वाचित भण्डारी एमाले बझाङका पुराना नेतामध्ये एक हुन् भने खड्का माओवादी र एमाले मिलेर नेकपा बनेपछि माओवादीबाट एमालेमा आएका थिए। उनी एमाले बझाङका निर्वतमान अध्यक्षसमेत हुन्।
यस्तै अधिवेशनले जिल्ला कमिटी उपाध्यक्षमा तलकोट गाउँपालिकाका पूर्वअध्यक्ष लालबहादुर विष्टलाई निर्वाचित गरेको छ। उनले दुर्गाथली गाउँपालिकाका पूर्वअध्यक्ष प्रयागराज जोशीलाई पराजित गरेका छन्। सचिवमा लोकेन्द्रबहादुर सिंहलाई पराजित गर्दै नयनबहादुर बोहरा निर्वाचित भएका छन्। उनीहरू दुवै जना विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आएका हुन्। त्यसैगरी खुला उपसचिवमा पञ्कज भण्डारी र महिला उपसचिवमा राधा विष्ट चयन भएका छन्।
अधिवेशनले पदाधिकारी तथा सदस्य गरेर ७५ जनाको जिल्ला कमिटी र गजेन्द्र खत्रीको अध्यक्षतामा सात सदस्यीय लेखा आयोगको चयन गरेको नवनिर्वाचित सचिव नयन बोहराले जानकारी दिए।