काठमाडौं: लामो रस्साकस्सीको बीच नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ।
शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विधेयकको मस्यौदा संशोधनसहित पारित गर्ने निर्णय गरेको हो। विधेयकमा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान स्वीकृत भएको छ।
अब वरिष्ठ हवल्दारसम्मका प्रहरीले १६ वर्षमा तथा असई, सई र वरिष्ठ सईले १८ वर्ष जागिर अवधि पुगेपछि पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाउनेछन्। तर, उनीहरूले पेन्सन भने जागिर सुरु गरेको २० वर्ष अवधि पुगेपछि मात्र पाउनेछन्।
तल्लो तहका प्रहरीहरुले लामो समयदेखि यस्तो व्यवस्थाका लागि माग गर्दै आएका थिए।
प्रहरी निरीक्षक (इन्सपेक्टर)भन्दा माथिल्लो दर्जाका प्रहरीको हकमा भने अहिले कायमै रहेको सेवा प्रवेश गरेको २० वर्षमा पेन्सन हुने व्यवस्था समेटिएको छ। इन्स्पेक्टर भर्नाको अधिकतम उमेर २७ वर्ष बनाइएको छ।
विधेयक समितिले पास गरेको दुवै प्रहरीसम्बन्धी विधेयक मन्त्रिपरिषद् बैठक हुँदै संसदमा लैजाने सरकारको तयारी छ । विधेयक संसदबाट पनि पास भएपछि मात्र कार्यान्वयनमा जानेछ।
यसअघि प्रहरी नियमावली २०४९ कार्यान्वयनमा हुँदासम्म १६ वर्ष सेवा अवधि पूरा गरेपछि पेन्सन पाउने सुविधा थियो। तर प्रहरी नियमावली २०७१ लागू भएपछि उक्त प्रावधान सच्याएर १६ को ठाउँमा २० वर्ष पुर्याइएको थियो।
यो व्यवस्था लागू भएपछि धेरै प्रहरी कर्मचारीले सेवा अवधि नपुग्दै राजीनामा दिने गरेका थिए।