धनगढी: नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन्। एमाले डोटीको नवौँ जिल्ला अधिवेशनमा मलासीले शेर मल्ललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्।
मलासी २१५ मतसहित विजयी हँदा प्रतिद्वन्द्वी मल्लले १७१ मत मात्र प्राप्त गरे।
उनी एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावल पक्षधर मानिन्छन्। मलासीलाई निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य चक्र मल्लको पनि साथ रहेको बताइन्छ।
निवर्तमान अध्यक्ष मल्ल पनि रावल पक्षधर मानिन्छन्। नेकपा विभाजन कालमा मल्ल र मलासी दुवै जना रावलसँगै तत्कालीन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा गएका थिए। पछि रावल एमालैमै रहँदा उनीहरू पनि एमालेमा रहेका थिए।
यस्तै अधिवेशनबाट उपाध्यक्षमा खगेन्द्र बडैला, सचिवमा पदमराज भट्ट, उपसचिवमा खुल्लातर्फ डम्मरसिँह डौडी, महिलातर्फ विष्नादेवी सिंह निर्वाचित भएकी छन्। पदाधिकारीमा निर्वाचितमा पनि मलासीकै प्यानल हाबी देखिएको छ।
उपाध्यक्ष बडैलाले १११ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गणेश बहादुर विष्टले १०७ मत मात्रै ल्याए।
सचिवमा पदमराज भट्ट २३७ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी धनबहादुर नेपालीले ११९ र झलक बहादुर पालीले ६८ मत ल्याएका छन्।
उपसचिवमा डम्मर डाँगी र उपसचिव (महिला) मा बिस्ना सिंह विजयी भएकी छन्। डाँगीले १५२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी बम बहादुर विष्टले १२३, कृष्ण खड्काले ६७ र कृष्ण दर्लामीले ३४ मत पाएका छन्।
उपसचिव(महिला) मा विजयी सिंहले २०८ मत पाएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी शशी साेवले १४६ मत प्राप्त गरेकी छन्।
एमालेकाे नयाँ नेतृत्व चयनका लागि मंसिर २८ र २९ गते जिल्ला अधिवेशन भएकाे थियो। सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि यहाँ मतदान भएकाे थियाे। अध्यक्षमा निर्वाचित मलासी दिपायल सिलगढी नगरपालिकाकी पूर्वमेयर हुन्।