धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले डा. जितेन्द्र उपाध्यायलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्। टीकापुर नगरपालिका–१, कैलाली निवासी डा. उपाध्यायलाई “मुख्यमन्त्रीको सल्लाहकार नियुक्ति तथा सेवा र सुविधा सम्बन्धी कार्यविधि, २०८१” को दफा ३, उपदफा १ (क) बमोजिम नियुक्त गरिएको हो।
नियुक्ति मिति २०८१ मंसिर ३ देखि लागू हुनेछ। सल्लाहकारका रूपमा डा. उपाध्यायले सो कार्यविधिको दफा ९ र अनुसूची २ अनुसार पारीश्रमिक र सुविधा पाउनेछन्।
मुख्यमन्त्री शाहले नियुक्ति पत्रमार्फत डा. उपाध्यायलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै बधाई दिएका छन्। उपाध्याय हाल क्यानडा बस्दै आएका छन्।
डा. उपाध्याय यसअघि विभिन्न राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनको अनुभवले प्रदेश सरकारलाई थप सहयोग पुर्याउने विश्वास गरिएको छ।
यस अगाडिका मुख्यमन्त्रीले भने राजनैतिक सल्लाहकार राखेका थिएनन्।