धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका निर्विवादित भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले नौलो सुरुवातका कामहरु थालेका छन्। बैतडीबाट माननीय निर्वाचित भएर एकपटक प्रदेशको अर्थमन्त्रीसमेत भैसकेका मन्त्री पालले प्रदेशमै नौलो, अनुकरणीय एवं पारदर्शी कामहरुको सुरुवात गरेका छन्।
उनले यस अगाडि योजना, बजेट किनबेच रोक्नेदेखि योजना कार्यान्वयनको हकमा हुने कमिसनखोरी रोक्न निकै भूमिका खेलेका थिए। त्यसबाहेक उनले सामाजिक तथा परोपकारी काम पनि गर्दै आएका छन्।
यसैक्रममा उनले हालै एउटा निर्णय गरेका छन्। जसको आम जनता र कर्मचारीतन्त्रले स्वागत गरेको छ। मन्त्री पालले यस अगाडि मन्त्रीहरुले आफ्ना कार्यकर्ता तथा आसेपासेलाई करारमा मन्त्रालय एवं मातहत जागिर खुवाउने परिपाटीको अन्त्य गरेका छन्।
उनले जसका लागि करारमा आफूले कर्मचारी भर्ना, पदपूर्ति नगरी प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी माग तथा पदपूर्तिको आह्वान गरेका हुन्।
मन्त्री पालले मन्त्रालय तथा मातहत सम्बन्धित कार्यालयका लागि रिक्त पदमा लोक सेवालाई कर्मचारी माग गरेको बताइएको छ। वैज्ञानिक विधिको उपयोग गर्ने भन्दै लोक सेवालाई नै करारको पदपूर्ति गर्न जिम्मेवारी दिइएको भौतिकका सचिव सुरत कुमार बमले महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
उनका अनुसार केही समय अगाडीमात्रै मन्त्रालयबाट १५ जना सब-इन्जिनियर र ३ जना ल्याब टेक्निसियन माग गरिएको छ। जसका लागि प्रदेश लोक सेवाले पदपूर्ति गर्ने छ। जसले गर्दा कर्मचारी भर्नामा राजनीति, चलखेल तथा घुस एवं भनसुनको परिपाटी अन्त्य हुने जनाइएको छ।
सोही सरोकारलाई लिएर लोक सेवाले पनि सूचना नै निकालेको छ। लोक सेवाका अनुसार करारमा पदपूर्तिका लागि बैकल्पिक उम्मेदवारलाई सम्पर्कमा आउन भनिएको हो।
सूचनाका अनुसार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका सब-इन्जिनियर पदमा अस्थायी नियुक्तिका लागि आवेदन खुला गरिएको जनाइएको छ। मन्त्रालयको मागअनुसार, प्रदेश लोक सेवा आयोगले अस्थायी उम्मेदवारहरूको सूचीबाट सिफारिस गर्न सूचना जारी गरेको हो।
आयोगले इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, पाँचौं तह अन्तर्गत ४ जना सब-इन्जिनियर पदमा अस्थायी नियुक्तिका लागि योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ। यो प्रक्रिया प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४९(१) अनुसार अघि बढाइएको हो।
आयोगको सूचना नं. ७८/०८०-८१, मिति २०८०/०९/१६ मा प्रकाशित योग्यताक्रम सूचीमा नाम समावेश भएका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आयोगमा निवेदन पेश गर्नुपर्नेछ। आवेदन अवधि भने सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको छ।
आयोगले योग्य उम्मेदवारहरूको अस्थायी सूचीमा नाम समावेश गरी सेवा प्रदान गर्ने उद्देश्यले सूचना सार्वजनिक गरेको जनाइएको छ। अधिक जानकारीका लागि सम्बन्धित प्रदेश लोक सेवा आयोग कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
सूचना हेर्नुस्