धनगढी: बाजुराको जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नम्बरको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
महिलालाई ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै डडेल्धुरामा डिजेल र पेट्रोल बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिका–६ भालुमारेस्थित भीमदत्त राजमार्गमा शुक्रबार बिहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ज १६७२ नम्बरको जिप दुर्घटना भएको हो।
प्रहरीले जिप ७० मिटर तल खसेको बताएको छ। चालक बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय रवीन्द्र बोहरासहित जिपमा सवार अन्य ३ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ।
जिपमा २ ड्रम डिजेल र २ ड्रम पेट्रोल लोड गरिएकोमा डिजेल पूरै पोखिएको र दुर्घटनाको कारण खुल्न नसकेको डडेल्धुरा प्रहरीले बताएको छ।