धनगढी: बझाडस्थित थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो खन्ने क्रममा ढुंगा खस्दा ज्यान गएको छ।
घटना भगवती आधारभूत विद्यालय नजिकै दिउँसो करिब १ बजे भएको हो। वडा अध्यक्ष प्रकाश भण्डारीका अनुसार, माटो खन्ने क्रममा माथिबाट ठूलो ढुंगा खसेर उपाध्यायको घटनास्थलमै मृत्यु भएको हो। भण्डारीले हिजो परेको पानीका कारण माटो गलेर ढुंगा खसेको हुनसक्ने बताए।
मृतक उपाध्यायका ४० दिनकी छोरी र अढाई वर्षको छोरा छन्। उनका श्रीमान कुलराज उपाध्याय बाजुराको गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत छन्।
माघी पर्वको पूर्वसन्ध्यामा उपाध्यायको असामयिक निधनले देवलबाझ गाउँ शोकमा डुबेको छ।
Facebook Comments Box