धनगढी: छिमेकी मुलुक भारतबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई पछिल्लो समय लुटपाट गर्ने गरेका घटना बढेका छन्। सीमानाकामा प्रहरीले दिने हैरानीदेखि विभिन्न क्षेत्रमा उनीहरूमाथि लुटपाट हुने गरेको छ।
त्यसकारण पनि नेपालमा पछिल्लो समय अपेक्षित रुपमा पर्यटक आउन सकिरहेका छैनन्। यसैक्रममा हालै सुदूरपश्चिमको महेन्द्रनगरमा एउटा लुटपाटको घटना भएको छ।
प्रहरीका अनुसार अस्तितिर भारतबाट नेपाल घुम्न आएका भारतीय नागरिकहरू तुलसी राम, अरविन्द कुमार, र विशाल पालमाथि लुटपाट भएको हो। सो घटनामा अहिले प्रहरीले लुटपाट गर्नेहरूलाई पक्राउ गरेर आपराधिक लाभ सम्बन्धि कसुरमा हिरासतमा राखेको जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ४ बसपार्कमा विशाल पालले अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको बेला सोही घटनालाई मिलाइदिने बहानामा गिरोहले उनीहरूमाथि कुटपिट र आर्थिक ठगी गरेको पाइएको हो।
त्यसपछि अनुसन्धानका क्रममा हरी दत्त भट्ट (हरीष), राम बहादुर सिंह (रोमन), र अशोक बमसहितको समूहले तुलसी राम र अरविन्द कुमारलाई होटल ओपेरामा लगेर मदिरा सेवन गराई डर, धम्की र कुटपिट गरेको खुलासा भएको थियो।
त्यसपछि माघ १ गते प्रतिवादी राम बहादुर सिंहले तुलसी रामको मोबाइल खोसी, गुगल पेमार्फत भारतीय रुपैयाँ ५०,००० आफ्नो खातामा पठाएको प्रमाण फेला परेको थियो। सोही क्रममा पीडितको उजुरीपछि कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रतिवादीहरूमाथि आपराधिक लाभ सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुरक्षा निकायले यस्तो गतिविधिमा संलग्नलाई कानूनी कारबाही गर्ने र पर्यटकको सुरक्षामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।