काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि मतदान स्थगित भएको जनाएको हो ।
उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगको भनाइ छ ।
लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको आयोगले जानकारी दिएको छ । त्यस्तै मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका सङ्कलन भइसकेपछि मतगणना यथाशीघ्र सुरु गरिने पनि आयोगको भनाइ छ ।
आयोगका अनुसार संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा राति १० बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६४ प्रतिशत मतदान भएको छ ।