दार्चुला – तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा ल्याउन तयारी थालिएको छ ।
व्याँस गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल सञ्चालनमा आउन लागेका हुन् ।
नागरिकको सहजताका लागि निर्माण सम्पन्न ती पुलहरू दुबै देशको समन्वयमा केही दिनभित्रै सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
नेपालको तर्फबाट सीमा पुल सञ्चालनमा ल्याउन निर्णय नै भइसकेको उनले बताए । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तर्गत व्याँस–६ बडूगाउँस्थित महाकाली नदीमा गत फागुनमै झोलुङ्गे पुल निर्माण भएको थियो ।
त्यस्तै व्याँस–४ मडगाउँमा पनि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल माघ तेस्रो साता निर्माण सम्पन्न भइसकेको छ । तर अन्य भौतिक संरचना निर्माण कार्य भइरहेको छ । यस्तै व्याँस गाउँपालिका–२ मालमा पुल निर्माणाधीन छ । सम्पन्न पुलहरू सञ्चालनमा नआउँदा स्थानीयहरू लुकिछिपी अवैध तुइनको सहारामा वारपार गर्न बाध्य छन् ।
एकै प्याकेजमा सम्पन्न २ वटा पुल सञ्चालनको तयारीमा रहेको बताइएको छ । पुल सञ्चालनका लागि भारतसँग समन्वय भइरहेको प्रजिअ उपाध्यायले बताए । तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुङ्गे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिएको थियो ।
विगतमा व्यासको तिग्रम र लेकमको लालीमा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् । पाँच ठाउँमा अझै पुलको आवश्यकता रहेको स्थानीयहरुले बताएका छन् ।