कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँदको मृत्यु घटनाका ३ जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत बैशाख ३ गते भूत भगाउने भन्दै धामीझाक्रीको कुटाइबाट रञ्चुलाको ज्यान गएको थियो । यस घटनामा हत्या आरोपमा ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता भएको थियो ।
तीमध्ये धामीझाक्रीका नाइके भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट, कमला साउद र जानकी घटाललाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको छ ।
यस्तै, आरोपीमध्येका ५ जना एक÷एक लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डीएसपी चक्रबहादुर शाहले बताए ।
धरौटीमा भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, गौरीदेवी साउद, कुबेर सिंह साउद, चक्रसिंह साउद र जयदेव सिंह साउद छुटेका छन् । आरोपीमध्येकी एक चञ्चला साउद भने फरार रहेको प्रहरीले जनाएको छ ।