काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कार्यरत खाडीका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, र कतारका लागि काउन्सेलर(श्रम) र श्रम सहचारी सिफारिस गरेको छ।
मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीन बन्धु सुबेदीलाई सिफारिस गरेको हो।
कार्की श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, मिनभवनमा कार्यरत छन् भने सुबेदी वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलमा कार्यरत रहेका छन् ।
यस्तै बहराइनको श्रम सहचारीमा शाखा अधिकृत जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेलको नाम सिफारिस भएको छ । काफ्ले र पौडेल दुवै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् ।
उनीहरूलाई काउन्सेलर(श्रम) तथा सहकारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिमको मूल्याङ्कनबाट मन्त्रिस्तरीय निर्णयले बुधवार सिफारिस गरिएको हो । माघ १९ गते एक सूचना प्रकाशित गर्दै ‘काउन्सेलर(श्रम) तथा श्रम सहकारी छनौट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार आवेदन माग गरेको थियो ।