काठमाडौं – नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाह थुनछेक आदेशको मुद्दामा बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । पल शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्वय ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परेको छ ।
एक नाबालिगलाई पटकपटक बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुगेका थिए ।
दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त मुद्दा दैनिक पेसी सूचीमा राखेको हो । आज उच्च अदालत पोखराले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा थुनामुक्त गरेर मुद्दा लड्ने भन्ने सम्बन्धमा थुनछेक प्रयोजनको आदेश दिनेछ ।
सुरुमा आफू शाहबाट बलात्कृत भएको भन्दै एक नाबालिगले जाहेरी दिएकी थिइन् ।
पछि अदालतमा बकपत्र गर्ने क्रममा भने पीडित भनिएकी बालिकाले आफूलाई अरु कसैले उचालेर मुद्दा दर्ता गराएको र शाहले आफूलाई केही नगरेको बताएकी थिइन् ।
पीडित बालिका होस्टाइल भएपनि अदालतमा बकपत्र गर्ने क्रममा शाहले अदालतमा पेस गरिएको अडियो टेप आफ्नो भएको भन्दै आफैँविरुद्ध प्रमाण पुग्ने गरी तनहुँ जिल्ला अदालतमा बयान गरेका थिए ।