ललितपुर – अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले जनचेतनामूलक साइकल यात्रा आयोजना गरेको छ ।
शनिबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएकोले महिलालाई सम्मान गर्नुपर्ने बताएकी छन् ।
विगतमा जनचेतना अभावमा महिलाले घरबाटै विभेद भोग्नु परेको उल्लेख गरे । मन्त्री भुसालले महिलाको स्वास्थ्यमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकारले ध्यान दिनुपर्ने पनि बताइन् । उनले भनिन्, ‘यो गर्वको कुरो हो तर महिला हुनु पाप र अपराध होइन, महिलाको मातृत्व क्षमताको पहिचान हो ।’ उनले महिनावारीका समयमा महिलालाई सफा र स्वच्छ राख्नुपर्ने भएकाले त्यसका लागि सफा, स्वच्छ, पुनः प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्न जोड दिइन् ।
आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले एक्सपोज नेपालले सन् २००७ देखि नेपालमा महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध आवाज बुलन्द गर्दै आइरहेको र नेपाली महिला महिनावारीका समयमा विभेदको सिकार हुने भएकाले विभेद हटाउन जोड दिँदै साइकल र्यालीको आयोजना गरेको बताए ।
बिहान साढे ७ बजे बसन्तपुरबाट सुरु भएको साइकल र्याली जमल, दरवारमार्ग, पुतलीसडक, अनामनगर, बिजुलीबजार, माइतीघर मण्डला, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मङ्गलबजारस्थित दरबार स्क्वाएर पुगेर समापन गरिएको थियो । र्यालीमा ३५० भन्दाबढी व्यावसायिक साइकलयात्रीको सहभागिता थियो ।