दार्चुला– गणतन्त्र दिवसको अवसरमा आइतबार दार्चुलामा विविध कार्यक्रम गरिएको छ । नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउन थालिएको छ । सोही दिवसको अवसरमा दार्चुला जिल्लाभरी विविध कार्यक्रम गरिएको हो ।
जिल्ला सदरमुकाम खलंगमा आयोजित एक कार्यक्रममा सहभागि वक्ताहरुले गणतन्त्रपश्चात नागरिकले राज्य भएको अनुभूत गरेको बताएका छन् । देशमा गणतन्त्र घोषणा भएको १४ वर्ष पुग्दासम्म नागरिकले थोरै भएपनि राज्य भएको अनुभूति हुन थालेको महाकाली नगरपालिका ३ का ७० वर्षीय बृद्ध अमरसिह साँहुले बताउनुभयो । उहाँले पञ्चायती बहुदल भन्दा गणतन्त्र जनताको लागि राम्रो भएको बताउनुभयो । उहाँले अहिले थोरै भ्रष्टचार बढेको भन्दै यसलाई नियन्त्रण गर्न आग्रह गर्नुभएको छ ।
यस्तै सदरमुकाम खलंगामा भएको गणतन्त्र दिवसको अवसरमा बोल्ने वक्ताहरुले परिवर्तनलाई आत्मसाथ गर्दै सुधार गर्दै लिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै महाकाली नगरपालिका नगर प्रमुख नरसिंह चैसिरले राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गएपनि जनजिविकाको सवालमा भने सोचे अनुरुपको प्रगति हुन नसकेको बताउनुभयो । गणतन्त्रलाई सबैले आत्मसाथ गर्दै लागे मात्र परिवर्तन सम्भव हुने उहाँको भनाई छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले राजनीतिक दलहरुको संघर्ष र जनताको समर्थनमा आएको गणतन्त्रलाई संस्थागत गर्न सबै क्षेत्र मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।
यसैबीच आइतबार विहान जिल्लास्थित सरकारी कार्यालयहरुका कर्मचारी नगर प्रमुख चैसिर, प्रमुख जिल्ला अधिकारी उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा खलंगा बजार क्षेत्रका विभिन्न चोक तथा मन्दिरहरुमा सरसफाई गरिएको छ ।
खलंगा बजार क्षेत्रको खुल्ला मञ्च बसपार्क, जगतनाथ मन्दिरमा सरसफाई गर्नुका साथै जिल्ला अस्पताल दार्चुलामा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । यस्तै मालिकार्जुन मन्दिर परिसर पुगेर सरफाइका साथै कोण सभागदै १५ गणतन्ण दिवस मनाइएको छ । यसैबीच दार्चुलाको मालिकार्जुन गाउापालिका लगायतका पालिकाहरुले समेत गणतन्त्र दिवस मनाएका छन् । मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीको अध्यक्षता एवं गाउँपालिका उपाध्यक्ष कल्यानसिह धामीको आतिथ्यतामा गणतन्त्र दिवसको अवसरमा कार्यक्रम गरिएको छ ।