काठमाडौं – पछिल्लो समय यातायात कार्यालयको असारभित्र इम्बोस्ड नम्बर प्लेट राख्ने निर्देशनको व्यापक विरोध भइरहेको छ ।
सडकदेखि सदनसम्म विरोध भएको उक्त निर्देशनमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले चर्को आवाज उठाइरहेका छन् ।
सांसद थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् ।
शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरे ।
‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ’, थापाले अघि भने, ‘यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव छ ।’
असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरेका उनले ठेक्का सम्झौता लगायतका विषयमा सरकारले जवाफ दिनुपर्ने बताए ।
सरकारले बागमती र गण्डकी प्रदेशमा असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य लगाउनुपर्ने निर्देशन दिएको थियो । तर, यातायात कार्यालय पोखराले भने दिनमा ५० भन्दा बढी नम्बर प्लेट उपलब्ध गराउन नसकिने जनाइसकेको छ ।