काठमाडौं – मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (साउन १७ गते, मंगलबार) हुने भएको छ ।
उक्त आईपीओको बाँडफाँड आज दिउँसो ४ बजे, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडको कार्यालय, नक्साल, काठमाडौंमा हुनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख १० हजार ९ सय २६ जना लगानीकर्ताहरूले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए । उक्त संख्या सर्वसाधारणको लागि छुट्याइएको भन्दा १६.५३ गुणा धेरै हो ।मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।