काठमाडौं – पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते) देखि सर्वसाधारणका लागि करिब २५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो ।
सोमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि तथा १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर पछिल्लो समयको आवेदन संख्या र सेयर पाउने संख्या हेर्दा गोलाप्रथाबाट १० कित्ता पाउनु्पर्ने अवस्था रहेकाले एक हजारको आवेदन नै प्रयाप्त हुनेछ ।
आईपीओमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त मितिसम्म माग बमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म थप हुनेछ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरर बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।
पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोला दोस्रोमा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ ।
पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण गरिरहेको आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ। प्राधिकरणले कम्पनीसँग बर्षायामको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० मा विद्युत खरिद गर्ने सम्झौता छ। ९० करोड अनुमानित लागतमा आयोजना निमार्ण थालिएको हो । जसमा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गरेको छ भने र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी रहेको छ।