डडेल्धुरा – डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात ट्रायल हुने भएको छ। साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेका यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले शनिबार ट्रायल उद्धाटन गर्न लागेका हुन्।
दुबै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्धाटन गर्ने कार्यक्रम तय गरिएको यातायात डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायल बताए। उनका अनुसार पहिलोपटक सञ्चालन भएको ए, के र बी वर्ग अथात् मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको बताए।
प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै भोलि नै परीक्षणकालिन लाइसेन्स वितरण गर्ने तयारी रहेको छ। भोलि सुरुमा डोटी र त्यसपछि डडेल्धुरामा ट्रायल उद्धाटनको कार्यक्रम रहेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटी नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेको हो।