धनगढी: कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन्। भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जानकारी दिए।
उनकाअनुसार शनिबार साँझदेखि हराइरहेका चौधरी आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत भेटिएका हुन्। चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
यस्तै, भजनी नगरपालिका–८ को गुडचौरामा लडेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय जयराम डगौरा पनि मृत भेटिएका छन्।
शनिबार साँझ पसलबाट घर फर्किने क्रममा पानी जम्मा भएको ठाउँमा एक्कासी लड्दा डगौराको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।
यस्तै कैलालीमा करेन्ट लागेर महिलाको मृत्युु भएकाे छ। जिल्लाकाे घाेडाघाेडी नगरपालिका -११ सिसैयाकि ५६ वर्षीया किस्नि चाैधरीकाे शनिबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार चाैधरीलाई घरमै माेटर चलाएर कपडा धुने क्रममा करेन्ट लागेको थियो।
उनलाई उपचारका लागि तत्काल घाेडाघाेडी अस्पताल पुगाइएकाे थियाे तर चिकित्सकले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ।
उता कञ्चनपुरमा नदीमा नुहाइरहेकी बालिकाको डुबेर मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिका-३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।