धनगढी: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले दोस्रो प्रदेश सभाले कामै गर्न नसकेको बताएका छन्।
धनगढीमा आज भएको संसदीय खुलापन, अवधारणा र अभ्यास सम्बन्धी छलफलमा उनले प्रदेश सभाले काम गर्न नसक्दा आफूलाई तलब भत्ता खाएको पनि अफ्ठेरो लागिरहेको बताए।
‘प्रदेश सभाभित्र जति पनि काम भए पहिलेको प्रदेश सभाले गरेको छ। पहिलो प्रदेश सभाले संरचना पनि बनायो, कानुन पनि बनायो। हामी आइसकेपछि त तलब भत्ता खाएको पनि नमिठो लागेको छ’ ओलीले भने, ‘किनभने एउटा कानुन पनि बनाउन सकेको छैन।’
यस्तै अर्की एमालेकी सांसद सन्तोषकुमारी थापा शर्माले कानुन निर्माणलगायत संसदका कामकारबाहीमा नागरिकको सहभागिता कमजोर रहेको स्वीकार गरिन्। सूचना र पारदर्शीताको अवस्था कमजोर रहेको उल्लेख गर्दै उनले कमीकमजोरी सुधार गरेर खुला सदन अपनाउनु पर्ने बताइन्।
त्यस्तै सांसद धर्मराज पाठकले संसदका गतिविधिलाई प्रविधिसँग जोडेर जानुपर्ने बताए। संसद र संसदीय समितिका कामकारबाहीप्रति चाँसो दिन उनले सञ्चार माध्यमलाई आग्रह गरे।
अर्का नाउपाका सांसद रामेश्वर चौधरीले प्रदेश सभा स्वायत्त भएको उल्लेख गर्दै प्रदेशको भूमिका प्रभावकारी हुनुपर्ने बताए। सांसद लक्ष्मी बिकले कानुन निर्माणमा प्रदेश सभा पछाडि रहेको बताइन्। राजनीतिक नेतृत्वले कर्मचारी र कर्मचारीले राजनीतिक नेतृत्वलाई देखाएर पन्छिने प्रवृतिका कारण प्रदेश संरचनामा काम गर्न समस्या रहेको उनको भनाइ छ।
त्यस्तै सांसद जानकी ऐर बमले संसदीय समितिका गतिविधि नागरिकसम्म पुग्नुपर्नेमा जोड दिइन्। अर्का सांसद अक्कलबहादुर रावल सभा कामविहीन भएको भन्दा रमेश सिंह धामीले भने सरकारले काम नै गर्न नसकेको जाहेर गरे।